कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी एक साता नाघ्दा पनि जिम्मेवार पक्ष मौन

जुम्ला, कर्णाली — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले गत जेठ २६ गतेदेखि सुरु गरेको तालाबन्दी एक साता पुगिसक्दा पनि संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट कुनै चासो देखिएको छैन।

कर्मचारीहरूले प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले कार्यकाल सकिन केही दिन बाँकी रहँदै आफ्ना नजिकका व्यक्तिहरूलाई नियमविपरीत जागिर दिने उद्देश्यले विज्ञापन प्रकाशित गरेको आरोप लगाएका छन्। यही कारण उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

कर्मचारीहरूको भनाइ अनुसार, रजिष्ट्रारले कार्यकारी परिषद्बाट स्वीकृति नलिईकन एकल निर्णयमा विज्ञापन प्रकाशन गरेका छन्। ती विज्ञापनमा दरबन्दी किताबमा उल्लेख नभएका पदहरू पनि समावेश गरिएका छन्, जसले नियुक्तिको प्रक्रिया नै शंकास्पद बनाएको कर्मचारीहरूको आरोप छ।

आन्दोलन सुरु भएपछि कार्यकारी उपकुलपति तथा शिक्षाअध्यक्ष डा. डवल बहादुर धामी भने जुम्लाबाट काठमाडौं गएका छन्। आन्दोलनरत कर्मचारीहरूसँग वार्ता गरेर समाधान खोज्नुपर्ने बेलामा डा. धामी काठमाडौंस्थित सम्पर्क कार्यालयको ताला फोडेर बसेको भन्दै कर्मचारीहरू आक्रोशित छन्।

कर्मचारी युनियनका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायका अनुसार, प्रकाशित विज्ञापन रद्द गर्न ४८ घण्टे अल्टिमेटम दिइएको भए पनि संस्थाका पदाधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यसै कारण प्रशासन र कार्यलयहरूमा तालाबन्दी गर्नुपरेको उनी बताउँछन्।

बरिष्ठ प्रशासकीय अधिकृत द्वन्द बहादुर शाहीले भने, “उपकुलपति बन्ने दौडधुपमा रहेका डा. धामी आन्दोलनकारीहरूसँग संवाद गर्न तयार छैनन्, बरु आफ्ना मानिसलाई नियुक्त गर्न वार्गेनिङ गर्दै हिँडिरहेका छन्।”

आन्दोलनरत पक्षले अब ४८ घण्टा भित्र डा. धामी आफैँ जुम्ला आई समस्या समाधानमा सहभागी नभए शैक्षिक कार्यक्रम र काठमाडौं सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरिने चेतावनी दिएका छन्। उनीहरूले विज्ञप्तिमार्फत उत्पन्न हुने कुनै पनि जटिलताको जिम्मेवारी कार्यवाहक उपकुलपतिलाई नै हुने स्पष्ट पारेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.