नेकपा (एमाले) को आसन्न ११औँ महाधिवेशनमा जुम्लाकी नेतृ मेनका पछाईले केन्द्रीय सदस्य पदका लागि दाबी प्रस्तुत गरेकी छन्। युवा, महिला तथा भूगोल कुनै पनि क्लस्टरबाट उम्मेदवारी दिन तयारी अवस्थामा रहेको उनले बताइन्। पछाईले १५ वर्षको उमेरदेखि एमालेको सक्रिय राजनीतिमा संलग्न हुँदै विभिन्न संगठनात्मक जिम्मेवारी निर्वाह गरेको उल्लेख गरिन्। उनी १०औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन् भने सोही समयमा केन्द्रीय सदस्यमा दाबी रहे पनि व्यक्तिगत कारणले पछि हटेको बताइन्।
‘मेरो पुस्ताका धेरै साथीहरू अहिले नेतृत्वको तहमा पुगिसक्नुभएको छ,’ उनले भनिन्, ‘संगठनमा गरेको योगदान र वैचारिक स्पष्टताका आधारमा अब केन्द्रीय सदस्यमा उठ्नुपर्ने लागेको छ।’
अखिलका विभिन्न मोर्चामा सक्रिय भूमिका खेलेकी पछाई एमाले जुम्ला जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य तथा प्रभार विभाग प्रमुखको जिम्मेवारीमा समेत रहिसकेकी छन्। संघीयता कार्यान्वयनपछि उनी कर्णाली प्रदेश कमिटी सदस्य बनेकी थिइन् र दुई कार्यकाल सो पद सम्हालिन्।
प्रदेश कमिटी उपसचिव पदमा उम्मेदवार बनेकी पछाई २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा समेत समेटिएकी थिइन्। आगामी महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित आफूले दाबी प्रस्तुत गरेको उनको भनाइ छ।