मकवानपुर, असार १० — हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ९० करोड तीन लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख राजेशकुमार बानियाँले १७औँ नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो। यद्यपि बजेटको पुँजीगत र चालु खर्चको स्पष्ट विवरण भने उल्लेख गरिएको छैन।
नगरसभाको उद्घाटन गर्दै प्रमुख मीना लामाले हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहर बनाउने, कृषि, पर्यटन, तथा कला–संस्कृतिको दीर्घकालीन विकासमा नीति लागु गरिने बताउनुभयो। उहाँका अनुसार, योजनाहरू अब आयोजना बैंकमार्फत कार्यान्वयन गरिनेछ।
प्रमुख लामाले हेटौँडा अस्पतालको स्तरोन्नति, विपन्न दलित तथा आदिवासी समुदायको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न गुरुयोजना बनाइने पनि जानकारी दिनुभयो। साथै, वनस्पति खेती विस्तार, वडा समितिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, र तेस्रो सन्तान जन्माउने नागरिकलाई प्रोत्साहन गर्न नयाँ कोष स्थापना गरिने योजना छ।
उपप्रमुख बानियाँ र वडा नं ४ का अध्यक्ष नवीनकुमार सिग्देलले बजेट विकासमुखी रहेको भन्दै नगरको समुन्नतिका लागि दलगत स्वार्थभन्दा माथि उठेर समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
यस बजेटमाथिको छलफल आगामी असार २७ गतेबाट सुरु हुने नगरसभा बैठकमा गरिने जानकारी प्रवक्ता सविन न्यौपानेले दिनुभयो।