साउन- ६, काठमाडौं — गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार २० खर्ब नाघेको छ। भन्सार विभागका अनुसार यो अवधिमा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय कारोबार भएको हो, जुन अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि हो।
यसअघि २०८०/८१ मा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।
गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै, निर्याततर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। २०८१/८२ मा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो। २०८०/८१ मा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ थियो।
यद्यपि, व्यापार घाटा अझै उच्च रहेको छ। गत वर्ष नेपालले १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो। २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ थियो ।