काठमाडौँ, साउन ११ – विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकका मागहरू समावेश नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी नेपाल राहत शिक्षक राष्ट्रिय समितिले दिएको छ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले राहत शिक्षकलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिनु पर्ने र पेशागत निरन्तरता सुनिश्चित नभए आन्दोलनमा उत्रिने बताएको हो।
समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था माग गरे। साथै, खाली राहत दरबन्दीलाई स्वीकृत दरबन्दीमा रूपान्तरण गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने बताए।

उनले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेर सीमा नलगाई सहभागी हुने व्यवस्था मिलाउनुपर्ने माग समेत दोहोर्याए।
महासचिव तिमिल्सिनाले समितिका मागहरू शिक्षा ऐनमा समावेश गराउन महासंघमार्फत सरकारलाई दबाब दिने रणनीति बनाइएको जानकारी दिए।
यदि शिक्षक महासंघले राहत शिक्षकका पक्षमा स्पष्ट र कडा रूपमा आवाज नउठाएमा तथा विधेयकले माग सम्बोधन नगरेमा, देशभर सरकार प्रमुखको पुत्ला दहन, विधेयकको प्रतिलिपि जलाउने, कालोपट्टी बाँधेर पठनपाठन गर्ने, शिक्षक महासंघको नाममा एक छाक नुन बार्ने जस्ता आन्दोलनका कार्यक्रमहरू अघि बढाइनेसमेत समितिले जनाएको छ।
