काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा स्कुल ड्रेस र किताब बोकेका किशोर–किशोरी भोलि काठमाडौंमा सडकमा उत्रिँदैछन् । यस पटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ भनिने १९९७–२०१२ मा जन्मेका जेनजी पुस्तामा देखिएको हो ।
सरकारले भदौ १९ गते २६ सामाजिक सञ्जाल निष्क्रिय गरेको थियो । २०८० मंसिरमा निर्देशिका जारी गर्दै सूचीकृत हुन आग्रह गरिएको भए पनि सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता नगरेपछि सरकारले एक्सेस बन्द गरेको हो ।
यस कदमले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने, युवाको आपसी सम्पर्क, सिर्जनशीलता र सामूहिक गतिविधि घट्ने, अनलाइन व्यापार, ई–कमर्स र डिजिटल उद्योग प्रभावित हुने भन्दै जेनजीले आन्दोलनको घोषणा गरेका हुन् ।
उक्त आन्दोलनमा व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पनि सहभागी हुने भएका छन् । प्रसाईंले आफूले उठाएको भ्रष्टाचारविरोधी आवाज अहिले जनस्तरमा पुनः प्रतिध्वनित भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलन स्कुल ड्रेस, किताब बोकेका किशोर–किशोरीहरूको स्वतःस्फूर्त सहभागितासँगै ठूलो स्वरूप लिँदै गएको छ ।