सिन्धुली, ११ कात्तिक – बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको थियो।
दुर्घटनामा परी ओमबहादुर अर्जेल (६५) मृतक भएको पुष्टि भएको छ। उनी मोरङको विराटनगर उपमहानगरपालिका–१७ का बासिन्दा थिए। दुर्घटनामा उनका श्रीमती सुनिता अर्जेल (४९) गम्भीर घाइते भएकी छन् भने छोरा निशान्त अर्जेल (३१) प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले घटनास्थलबाट घाइतेहरूलाई उद्धार गरी आत्मीय सामुदायिक अस्पताल खाल्टे लगिएको जानकारी दिए।
प्रहरी अनुसन्धान अनुसार, दुर्घटना कारको चालकले नियन्त्रण गुमाउँदा भएको हो।